(१) देहायको उद्देश्य प्राप्तिको लागि कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न आवश्यक छ भन्ने लागेमा नेपाल
सरकारले सूचित आदेशद्वारा त्यस्तो वस्तुको निकासी वा पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन सक्नेछ –
(क) सुरक्षा सम्बन्धी राष्ट्रिय हितको संरक्षण गर्न,
(ख) सार्वजनिक सदाचार, शिष्टाचार वा नैतिकता कायम राख्न,
(ग) सुन, चाँदी वा त्यस्तै अन्य धातु वा बहुमुल्य जवाहरातको व्यापारलाई व्यवस्थित गर्न,
(घ) मानव, पशु, पंछी वा वनस्पति जीवनको स्वास्थ्यमा प्रतिकूल हुने कार्यबाट संरक्षण गर्न,
(ङ) कारागारका थुनुवा वा कैदीहरुको श्रमबाट उत्पादित वस्तुहरुको पैठारी सम्बन्धमा उचित व्यवस्था गर्न,
(च) कलात्मक, ऐतिहासिक वा पुरातात्विक महत्वका राष्ट्रिय सम्पदाको संरक्षण गर्न,
(छ) लोप हुन सक्ने प्राकृतिक स्रोतको (घरेलु उत्पादन वा उपयोग समेतमा बन्देज गरी) संरक्षणको उचित व्यवस्था गर्न,
(ज) प्रतिस्पर्धात्मक क्षमता हुन सक्ने राष्ट्रिय प्रशोधन उद्योगको लागि आवश्यक पर्ने घरेलु कच्चा पदार्थको उपलब्धतालाई सुनिश्चित गर्न,
(झ) स्थानीयस्तरमा न्यून आपूर्ति भएका वस्तुको प्राप्ति तथा वितरणको लागि उचित व्यवस्था गर्न,
(ञ) विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्न,
(ट) अत्यावश्यक खाद्य सामग्री वा त्यस्तै प्रकारका अन्य उत्पादनको गम्भीर अभाव हुनबाट रोक्न,
(ठ) अन्तर्राष्ट्रिय व्यापारमा उपभोग्य सामग्रीको वर्गीकरण, स्तर निर्धारण वा बजारीकरणका मापदण्ड कायम गर्न,
(ड) अतिकम विकसित मुलुकको लागि वैदेशिक व्यापारमा प्रदान गरिएका छूट वा सहुलियतको उपभोग गर्न,
(ढ) अप्रत्याशित रुपमा ठूलो मात्रामा पैठारी भएका वस्तुबाट त्यस्तै प्रकृतिका वस्तु उत्पादन गर्ने राष्ट्रिय उद्योगलाई पर्न सक्ने गम्भीर प्रतिकूल असरबाट संरक्षण गर्न,
(ण) पेटेण्ट, ट्रेडमार्क, प्रतिलिपि अधिकार, औद्योगिक डिजायन, भौगोलिक पहिचान (जिओग्राफिकल इण्डिकेशन), गोप्य सूचनाको संरक्षण जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्न,
(त) देशको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने खालका नयाँ सीप वा प्रविधियुक्त उद्योगको प्रवद्र्धन वा संरक्षण गर्न,
(थ) अस्वस्थ वा अनधिकृत व्यापारिक क्रियाकलापलाई रोक लगाउन वा अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न,
(द) संयुक्त राष्ट्र संघको बडापत्र तथा नेपाल पक्ष भएको बहुपक्षीय अन्तर्राष्ट्रिय महासन्धि वा द्विपक्षीय सम्झौता कार्यान्वयन गर्न तथा सोबाट सृजित दायित्व पूरा गर्न ।
(२) उपदफा (१) बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा लगाएको बन्देज कायम राखिराख्न आवश्यक छैन भन्ने लागेमा नेपाल सरकारले सोको आधार र कारण खुलाई सूचित आदेशद्वारा त्यस्तो बन्देज जुनसुकै बखत हेरफेर गर्न, परिवर्तन गर्न वा हटाउन सक्नेछ ।